अन्तिम इच्छा – मालिकराम राई ‘वियोगी’

     
यो गोर्खा भिलेज हो । यो काम् तिन गाउँभित्र पर्छ । साना साना घरहरुको गाउँ हो गोर्खा भिलेज । गोर्खा भिलेज नाम कसरी रहन गयो त्यो लाहुरेहरुले मात्र जान्दछन् । तापनि अनुमान यो लगाउन सकिन्छ कि यो गाउँ गोर्खाहरुसँग सम्बन्धित छ । त्यहींमाथि सेक् कङ भिलेज छ जहाँ पहिला बेलायतको गोर्खा पल्टन थियो । त्यसबेला गोर्खाभिलेज लाहुरे लाहुरेनीहरुको सपिङ सेन्टर थियो रे । यो गाउँ समथर भागमा पर्छ । अलि माथि डाँडाहरु छन- ताई मो शन, न्याम्लेस हिल आदि । जहाँ उहिले लाहुरेहरुले कुद्ने, तालिम गर्ने र वनभोज पार्टि (बिबिक्यु) खाने गर्थे रे । अलि पश्चिमतिर अर्को नाँगो डाँडा कुम्भकर्णजस्तै सुतिरहेको देखिन्छ । त्यही डाडाको फेदीमा अर्को लाहुरे क्याम्प पहिला थिएछ, ताम्मी क्याम्प । त्यहाँका जिर्ण घरहरु अद्यावधि छन् । अलि पर सेङ सुइ, लो वु, लोक मा चाउ, फेन्लिङ आदि चाइना बोर्डरमा पर्छन् । यता पुर्वदक्षिणतिर युन् लोङ र तीन सुइ वाई गाउँ पर्छन् जुन १९९७ देखि गाउँबाट सहरीकरण हुँदैछ । यहाँ ठूल्ठूला घरहरु निर्माण हुँदैछन् । डाँडापारि कउलुन र हङकङ सहर छन् । साँच्चै गोर्खा भिलेज शान्त छ, हराभरा छ, रमाइलो छ, सुन्दर छ, प्राकृतिक छ, खुल्ला र स्वच्छ छ । यहाँ सहरको जस्तो गगनचुक्बी घरहरु छैनन् । यहाँ सहरमा जस्तो होहल्ला छैन, र कृतिमता पनि छैन ।  

धनसेर या चौँतीस मामा र हस्तबहादुर या हस्ते भान्जा गोर्खा भिलेज बस्छन् । उनीहरु नेपालबाट आएदेखि यही बस्दैछन् । एक तले घर छ । सामान्य तरिकाले बारेर कोठाहरु बनाइएका छन् । उनीहरुको साथमा अरु पनि बस्छन् । दुःखले घुस्रिप्रि्री बस्नु उनीहरुको बाध्यता भएको छ । चौँतीस मामा सेक्युरिटी काम गर्छन् हस्ते भान्जा कन्स्ट्रक्सन-निर्माण)को काम । एउटा कोठामा बसेको भन्नु मात्र छ, मामाभान्जाको भेट कहिलेकहींको छुट्टीमाबाहेक हतपत हुँदैन ।

आज उनीहरुको छुट्टी एकै दिन परेछ । धेरै दिनको व्यस्त जीवनपछिको यो छुट्टीले दुवैलाई खुशी तुल्याएउँछ । दुवै गफमा मस्त छन् । धनसेर भन्छ, ‘धेरै दिनपछि हाम्रो बिदा सँगै परेछ । अनि भान्जाको खबर के छ त -’

‘खास खबर त केही छैन मामा । काममा गयो आयो ।’ हस्ते धुने लुगाहरु बाल्टीमा राख्छ । कोठाका सामान मिलाउँछ । कोठाको सामान्य सरसफाइ गरिरहन्छ । यताउता गर्दै नै ऊ बोल्छ, ‘आज संयोगले हाम्रो बिदा सँगै परेछ ।’

‘जागिर त त्यै पहिलाकै होला -’ बियर चुरुप्प पार्दै धनसेर बोल्छ, ‘कि अर्को …-’

‘अहिलेसम्म त त्यहीं छ मामा । सकिनै लागेको छ ।’ घोडारेसका टिकटहरु सम्हाल्दै हस्ते बोल्छ ।

‘घोडारेस कतिको मर्दै छ -’ टिकटतिर हेर्दै धनसेर बोल्छ ।

‘केको पर्नु नि मामा । खरानी भइसकेको बेला हिजो बल्ल बल्ल अलिकति परेछ ।’ सबै काम ठप्प रोकेर हस्ते बोल्छ ।

‘कति परेछ भान्जा -’ जिज्ञाशु हुँदै धनसेर बोल्छ ।
             

‘१ वर्षा १४ हजार जति हारेँको थिएँ सावाँ आएर दुइ चार हजार मरेछ मामा ।’ हस्तेको अनुहार उज्यालिन्छ र मधुरो बन्छ, ‘भाग्यमै नभएपछि के गर्नु नि मामा, टियर्समा १ लाख ५० हजार थियो नि । दुर्इटा मात्र पर्यो । त्यो त कुइनेला र कुइनेला प्लेस मात्र हो ।’

‘हो र भान्जा – एउटाले गर्दा त्यत्रो खतम भए छ हो कि -’ आर्श्चर्य प्रकट गर्दै बियरको एक घुड्को निल्छ । अनि सम्झउन थाल्छ, ‘अब मर्दैन भान्जा । यतिमै खेल्न छाडिदेउ । त्यति भए पनि मरेछ । अब यतिमै सन्तोष गर । पहिला कति लाहुरेहरु खाली हात र्फकन्थे घोडारेसले गर्दा । यसमा मार्नेभन्दा हार्ने धेरै हुन्छन् । एक दुइ जनाले मात्र मार्ने हो । त्यस्तो दुःखले कमाएको पैसा एकै छाक हुन्छ ।’

नेपालबाट आएपछि हस्तेले घोडारेस सिक्यो । उसलाई लाग्यो कि काम गरेर कहिले पैसा कमाउने । बरु घोडारेसबाट बाजी जितेर चाँडै घर र्फकने । उसले रातारात धनि हुने दिवा सपना देख्यो । अनि कमायो घोडारेसमा बाजी थाप्यो । त्यसैले धनसेर यसो भन्छ, ‘होइन मामा, एउटा लाहुरे त अन्तिममा बाजी जितेर घर फर्केको थियो रे । मेरो पनि त्यसरी नै घर र्फकने विचार छ ।’

‘बेस्ट अफ लक ।’ धनसेर उसलाई आशिर्वाद दिन्छ ।

     

‘मामाले त पहिल्यै काफि पैसा कमाइसक्नु भएको होला । त्यसले गाउँघरमा के के गर्नु भो – अबकोले के गर्ने विचार छ, को नि -’ हस्ते प्रश्न गर्छ धनसेरलाई ।

‘खोइ भान्जा जति कमाए पनि पैसाले नपुग्दो रहेछ । २१ वर्षन्दा बढी नोकरी गरेर पेन्सिन गइयो । समाज सेवा गरियो, मोजमस्तीमा डुबियो । सबै सकियो । अहिले यी फेरि त्यहीं दुःख भोग्दै छु । बसिखाने बेला काममा गयो, आयो, खायो, सुत्यो, उठ्यो फेरि कामतिरै लाग्यो । अबचाहिँ दुइ चार वर्षदुःख गरेर कमाएको पैसाले जीवनको अन्तिम खण्ड सुखले बिताउने विचार छ ।’ धनसेरले अन्तिम इच्छा बताउँछ हस्तेलाई ।

अंग्रेजी दैनिक ‘द साउथ चाइनिज मर्निङ पोस्ट’मा हस्ते घोडाहरुको गौर अध्ययन गरिरहेको हुन्छ । उसलाई आज धेरै बाजी जित्नु छ । बुधबार र आइतबार ऊ यसैमा ध्यानमग्न हुन्छ । उसको तन, मन र धन यसैमा हुन्छ । हङकङ प्रवेशसँगै उसको सपना, कल्पना, जपना यसैमा हुन्छ । धनसेरको कुरोलाई पनि उसले सुनिरहेको हुन्छ । ऊ भन्छ, ‘त्यो कसरी मामा -’

‘पहिला दुःख गरेँ, कमाएँ, खाएँ, सकेँ । अब कमाएको पैसा त्यसरी मोजमस्तीमा उडाउदिनँ । अब आठ दश वर्षनिकै दुःख गर्छु काठमाडौंमा पाँच छ आनाको घडेरी किन्छु । एक दुइ तल्ले घर बनाउँछु । बुढेसकालको जीवन आरामले बिताउछु । एउटा उद्धेश्य नलिई केही गर्न नसकिँदो रहेछ भान्जा ।’ धनसेरले आफ्नो सबै उद्धेश्य हस्तेलाई बताउँछ ।

‘भेरी गुड आइडिया । तपाईंको कामना पुगोस् ।’ शुभकामना व्यक्त गर्छ हस्ते ।

‘मलाई भेरीगुड भनेर पुग्दैन भान्जा, तिमीले पनि मेरो जस्तै उद्धेश्य र विचार लिनु पर्छ । मैले त भोगेर भन्दै छु । यो भावनाको कुरो होइन ।’ हस्तेको अपरिपक्व, आलाकाँचो विचार बदल्ने आसय धनसेरमा हुन्छ । उसले सम्झाउने हरदम प्रयास गर्छ ।

‘म ट्राई गर्छु मामा ।’ धनसेरको मन रखनीमा ऊ बोल्छ ।

‘ट्राईमात्र होइन भान्जा, गरिहाल । भोलि पछुताउनु पर्ला ।’ आदेशै दिन्छ धनसेर ।

उत्तरमा हस्ते उसको आँखामा हेरिपठाउँछ । केही क्षणपछि प्रशंग बदल्दै अनुरोधको भाकामा ऊ बोल्छ, ‘अल्छि मान्नु हुँदैन भने २१ वर्षो लाहुरे जीवनको अविस्मरणीय घटना र क्षणहरु बताइदिनु होस् न मामा ।’

धनसेर लामो सास फेर्छ । हस्तेका आँखामा हेर्छ । विश्वासहीन हाँसो हाँस्छ । उसलाई कसरी विश्वास लागोस् र हस्तेजस्तो जुवाडे, आलाकाँचो केटोले उसको लाहुरे घटना ध्यान दिएर सुनोस् । उसको त्यो आग्रह एउटा ठट्टा जस्तो लाग्छ । अट्टाहाँस हाँसोमा बोल्छ, ‘भान्जालाई लाहुरेहरुको विगत सुन्ने समय छ र – फेरि कसरी बेला न कुबेला यो रहर आयो भान्जालाई -’

‘लाहुरे जीवन दुःखदायी र दर्दनाक हुन्छ रे । मैले मामाहरुबाट सुनेँ कि कहिलेकहींँबाहेक लाहुरे जीवन कहिल्यै सहज र सरल हुँदैन । कहिले ट्रेनिङ, कहिले लडाइँ, कहिले के, कहिले के । सँधै व्यस्त, सँधै खतरा । त्यसैले म तपाईंको अतित जान्न चाहन्छु ।’

उसले धनसेरलाई हेर्छ । धनसेर अलि असहज र अनौठो किसिमले उसलाई हेर्छ । ऊ आफ्नो अतिततिर घोत्लिन थाल्छ । केहीबेरको मौनतापछि ऊ अतितका मीठा नमीठा घटनाहरु रोचक र आकर्ष ढंगले प्रस्तुत गर्न थाल्छ, ‘सन् ६०/६१ तिर म लाहुरे भएर मलया गएँ । ट्रेनिङ भयो । सकियो । त्यसपछि कठिनको जीवन बित्यो । त्यसबेला मलयाका कम्युनिष्टहरु देशको शासन लिन चाहन्थे । उनीहरुको हामीप्रतिको आक्रमण निकै डरलाग्दो थियो । मलयाको विशाल जंगलभित्र उनीहरुको बसाइ थियो । कहिलेकहीँ बाहिर आएर हाम्रो बिजोग बनाउथे । हामी पनि विशाल जंगलभित्र जानु पथ्र्यो । हप्तौं, महिनौं जंगल जंगल बस्नु पथ्र्यो । न खान पाइन्थ्यो, न सुत्न । एकातिर कम्युनिष्टहरुको आक्रमण, अर्कोतिर बाघ, भालु र र्सपको डर । झन अर्कोतिर खान बस्नको समस्या । कति साथी त हेर्दा हेर्दै लड्थे । कोही फिर्थे कोही माथि पुग्थे । पहिला पहिला त कम्युनिष्ट भन्ने मान्छे होइन, जनावर लाग्थ्यो । सिनियरहरुले भन्ने गर्थे, ‘उनीहरु त झ्याप्प आउँछन् आँखाको झिमिकमा सबलाई फाँडेर बेपता हुन्छन् । उनीहरु त अचम्मको मान्छे हुन्छन् । साधारण मान्छे भए त्यति छिटो के गथ्र्यो ।’ त्यसबेला हाम्रो मनमा ठूलो डर पैदा हुन्थ्यो । मनमनै सम्झन्थ्यौँ, त्यो अजीवको मान्छे कस्ता होलान् । पछि आमनेसामने भइयो, लडाइँ गरियो । मान्छे त मरन्च्याँसे, लिखुरे, लुते, भाटे देखिन्थे तर बहुत छिटो, छरितो र ज्याद्रो । उनीहरु देखा परेपछि एक सासमा कुनै न कुनै घटना घटाएरै छाड्ने । हान्नै नपाइने । कथंकदाचित हान्न पाए पनि हतपत नढल्ने, साह्रै ज्याद्रो । काटे, कुटे पनि केहीझैं नमान्ने साह्रै ज्याद्रो । हाम्रो हातहतियार, लडाइँका सामान अनगिन्ती थिए । तर ती हाम्रा सामान उनीहरुको रण कौशलता र विशाल जंगलका कारण बेकम्मा थिए । साँच्चै भान्जा ती कम्युनिष्टहरु साह्रै खतरा थिए । हाम्रो जति हातहतियार भए संसार जित्थे होलान् । अहिले हाम्रो देशका माउवादी त्यस्तै त होला नि होइन र ?’

भय र त्रासपूर्ण मानसिकतालाई अलि रोचकता प्रदान गर्न हस्तेले प्रशंग मोड्छ, ‘अनि मामा रमाइलो पनि त गर्नु भयो होला नि ?

निराश मुहारलाई परिवर्तन गर्दै धनसेर बोल्छ, ‘रमाइलो त भान्जा जहाँ पनि एउटै हो । तरुनीको खेती नै विश्व व्यापार हो भन्दा फरक नपर्ला । तरुनीहरु संसारभरि नै पाइन्छ । मरिन्छ कि बाँचिन्छ भन्ने लाहुरेहरुको मानसिक रोग हो । अलि फुर्सत पायो कि मोजमस्तीमा मस्त भइहालिन्छ । साह्रै रमाइलो गरियो भान्जा ।’

४/५ वर्षो सँगै बसाइपछि धनसेर र हस्ते छुट्टै बस्छन् । त्यसपछि भेट कम हुन्छ । तर फोनमा कहिलेकहीं दुइबीच कुरो हुन्छ । कुरो उहीं हुन्छ, कति पैसा कमियो, त्यो पैसाले के गरियो, घोडारेसबाट कति बाजी जितियो, गाउँघरको खबर के छ, परिवारजन, नरनाताको हालखबर के छ आदि । कहिलेकहीं नेपालको राजनीतिक गतिविधिको कुरो पनि हुन्छ । माओवादीको विद्रोह, राजा ज्ञानेन्द्रको संसद विघटन र कुजस्ता विषयमा छलफल, विचार, विमर्श हुन्छ । नेपालीको हङकङ प्रवेश सँगसँगै पैसा कमाउने र जीवन सुन्दर बनाउने प्राथमिकतालाई भुलेर विकृति, विसंगति, कुसंस्कारमा लिन भएको कुरोलाई पनि धेरै विमर्श गर्छन् ।

समय बित्दै जान्छ । धनसेरको सपना साकार हुँदै जान्छ । उसले काठमाडौंमा पाँच आनाको एउटा घडेरी किन्छ । केही वर्षछि दुर्इ तल्ले घर बनाउँछ । अर्को एउटा तल्ला थप्ने प्रयासमा हुन्छ ।

हस्ते त्यस्तैगरि घोडारेसमा तल्लिन हुन्छ । उसले भनेजस्तो बाजी जित्न सकेको हुँदैन । एक रेसमा ३/४ हजार बाजी थाप्छ, हार्छ, मुर्मुरिन्छ, पछुताउँछ, छटपटाउँछ, निधार ठोक्छ, भाग्यलाई सराप्छ । त्यो हारेपछि कहिल्यै नखेल्ने वाचा गर्छ । थोरैबाट संचित गरेर धेरै बनाउने विचार गर्छ । तर अर्को रेस आएपछि ती वाचा, विचार, सब भुल्छ अनि फेरि बाजी थाप्छ । सँगैको हङकङ प्रवेशको ७ वर्षा धनसेरले दुइ तल्ले घर बनाइसकेको हुन्छ । तर बिचरा हस्तेले केही गरेको हुँदैन । बरु ऊ ऋणमा डुबेको हुन्छ । घोडामा हारेको एकमुष्ट रकम हिसाब गर्छ । उसले धेरै हारिसकेको हुन्छ । उसलाई यो कुलतले मात्र गाँजेको हुँदैन । फुटबल, मार्कसिक्स, म्यारिजको कुलतले पनि उसलाई गाँजेको हुन्छ । ऊ सिर्फयी कुलत पर्तिको लागि मात्र काम गरिरहेको हुन्छ ।

कउलुन पार्क शहरको बीचमा पर्छ । अर्थात चिम् शा चुइ र जोर्डनको बीचमा अवस्थित छ । यहाँ पौडीबाजहरुको निम्ति स्वीमिङपुल छ । प्रेम गर्नेहरुको लागि चौर, फलैँचा, रुखका छहारी छन् । रमितेहरुका लागि पोखरी, रुखबिरुवा, छहरा, चराचुङ्खी, माछा, कछुवा, आदि छ । यहाँ चराचुरुङ्खीको चिँचिँ सुन्न पाइन्छ । यहाँ सुन्दर रुखबिरुवा, फूल आदि देख्न पाइन्छ । शान्त, सुन्दर र हरियो रुखबिरुवाको छहारीमा दिनभरिको थकाइ मार्न सकिन्छ । चौरहरु, फलैँचाहरु, पोखरीहरु, ससाना छहराहरु देख्न पाइन्छ । यो ठाउँमा पुग्दा एक पटक औधि रमाइन्छ । त्यसैले धेरै मानिसको जमघट हुन्छ यहाँ । जोर्डनवासीहरु त यहींबाट आवतजावत गर्छन् । देश विदेशकाहरुको भेटघाट हुने ठाउँ पनि यहीँ हो । आज यहाँ धनसेर र हस्तेको भेट हुन्छ । रुखको सितलमा हावा खाँदै गफ गरिरहेका हुन्छन् । धनसेर भन्छ, ‘हैन हौ भान्जा आराम छ ।’

‘आरामै छु मामा । अनि मामाको नि -’ नमस्तेको आदनप्रदानपछि हस्तेले जवाफ फर्काउँछ ।

‘मेरो पनि खबर राम्रै छ । अनि घोडारेस खेलिन्दै छ कि छाडियो – कतै ठूलो रकम त परेको छैन -’ धनसेरको जिज्ञाशा हस्तेको घोडारेस मै हुन्छ ।

‘कहाँ हुनु नि मामा । आज पर्ला, भोलि पर्ला भन्दा भन्दा कहिल्यै परेन । एक पटक सिस्क्स अप झण्डै परेको थियो । १२ लाख ज्याकपोट थियो । ६ अंक मिल्नु पर्नेमा ५ अंक मात्र मिल्यो । अन्तिमको एक अंक नआएकोले १२ लाख ३५ हजार खेरो गयो । यो ७ वर्षा कमाएको जति सबै हारिसकिए छ । अबचाहिँ हतास लाग्न थाल्यो ।’ धनसेरको जिज्ञाशा कम गर्ने आसयले हस्तेले यस्तो उतर दिन्छ ।

‘राम ! राम ! राम ! भान्जा ।’ लामो सास तानेर धनसेर बोल्न थाल्छ, ‘७ वर्षो कमाइ सबै हारिसक्यौ । यत्रो समयमा अलि अलि बचत गरेर यसो घडेरी किनिरहेको भए अहिले त्यसको दाम कति पुगिसक्थ्यो – बेच्दै कति फाइदा हुने । मैले आनाको ३ लाख ५० हजारले पाँच आना जग्गा लिएको थिएँ । अहिले त्यहाँ १० लाख आना छ जुन पाँच आनाको ५० लाख हुन्छ । अहिले त्यहाँ दुइ तल्ले घर बनाएको छु । बनाइसकेको छैन ८० लाख दिन आएका छन् । तर म त्यो घर बेच्न चाहन्नँ । म चाहन्छु कि अब दुइ तीन वर्ष काम गरेर जीवनको अन्तिम क्षण त्यहीं बिताउनेछु । यदि मैले भनेजस्जै भान्जाले गरेको भए अहिले कति हुन्थ्यो । विनासे काले विपरितम् बुद्धि भनेको यहीं त होला नि ।’

‘हो मामा, तपाइंले भन्नु भएको ठिक थिएछ । तर मेरो विवेकले तपाईंको कुरो मानेन । आज पश्चाताप गरेर के गर्नु । म त प्रायश्चित भोग्नुको विकल्प देख्दिनँ । अब यो बुद्धि यो चेतना अर्को पुस्तालाई सुम्पिनु पर्ला । मामाको त आधा इच्छा पूरा भइसके छ । अब त अन्तिम इच्छा पुग्न मात्र बाकीँ रहेछ होइन मामा ।’ अट्टाहाँस निकाल्छ हस्ते ।

‘हो त नि भान्जा । अब मेरो अन्तिम इच्छा पूरा हुनेवाला छ । ब्याजको लोभले केही पैसा नाताहरुलाई दिएको थिएँ फसिरहेको छ । पैसा नपुगेर बैँकबाट केही ऋण लिएको छु । त्यो ऋण तिरेर केही खर्च बनाएपछि म नेपाल निक्लिहाल्छु ।’

धनसेरले अर्को तल्ला पनि थप्यो । बल्ल तल्ल ऋण पनि छिमल्यो । घरले मात्र भएन । काठमाडौंजस्तो महंगो ठाउँमा बस्नु परेपछि बसेर खाने पैसा त हुनै पर्यो । हुन त उसको पेन्शिन थियो जसले जेनतेन खान पुग्थ्यो तर मान्छेको मनमा लोभले बास गरेको हुन्छ । त्यसैले उसले अझ केही कमाएर जाने विचार गर्यो । यसरी १२ वर्षबित्यो । परिवार र आफन्तहरुको अनुरोधले अन्ततः उ नेपाल निक्लिने भयो, दशैँ र तिहार पारेर । हस्तेले पनि थाहा पाउँछ । फोनबाटै शुभयात्रा र अग्रिम बधाइको कामना दर्सउछ ।

जब धनसेरको जाने दिन नजिक आइरहेको थियो पेट दुख्ने बिरामीले ऊ सिकिस्त हुन्छ । उसलाई हस्पिटल भर्ना गरिन्छ । पेट दुख्ने बिमार अचानकचाहिँ थिएन । पहिल्यैदेखि दुख्ने गथ्र्यो । तैपनि ऊ हस्पिटल भर्ना भएको थिएन । यसपालिचाहिँ निकै साह्रो पेट दुखेकोले ऊ अस्पताल जान्छ । ऊ हस्पिटल भर्ना हुन्छ । केही दिनपछि आन्द्राको अपरेशन हुन्छ । यसबेला उनी समान्य देखिन्छन् । इष्टमित्र, नरनाता, चिने जानेका नक्बरी, सिनियर जुनियर लाहुरेहरु या आफन्तहरु भेट्न आउँछन् । हस्ते पनि उसलाई भेट्न जान्छ ।

ऊ हस्पिटल पुग्दा ढोकाबाहिर उनका छोराछोरी नातिनातिनीहरु र अन्य पाहुना हुन्छन् । ऊ ढोकामा बसेका कर्मचारीहरुलाई अनुमति मागेर सरासर भित्र पस्छ । भित्र उनकी श्रीमति, ज्वाइँ र एउटा गाउँले भाइ हुन्छन् । ज्वाइँ उनलाई सम्हालिरहेका हुन्छन् । श्रीमति र भाइ कतै सघाउन पर्छ कि भनी पर्खिरहेका हुन्छन् । उसले, ‘नमस्ते मामा, माइजु’ भन्छ र बिमारीको अवस्थाको जानकारी लिन्छ । उतानो परेर सुतिरहेको धनसेरको मुहार हेर्छ । पहिला जस्तो थियो त्यस्तै देख्छ । पाइपबाट तरल पदार्थ खुवाइन्दै गरेको र अलि अलि गिलो भात पनि खान सम्ने भएको कुरो उसलाई थाहा हुन्छ । बुढेसकालले गालाहरु चाउरी परेकोबाहेक मुहारको कान्तिमा कुनै परिवर्तन आएको हुँदैन । निकै दुब्लाएको हुन्छ ऊ । हाडमा मासु टाँसिएको हुन्छ । उनको बोलीमा जुन दम थियो यथावत हुन्छ । सान्त्वना र ढाढस दिदै हस्ते बोल्छ, ‘मामा, नआतिनु होला । शरीर भएपछि रोग त लागिहाल्छ नै । अब त धेरै राम्रो भइसक्नु भएछ । खाना पनि खान थाल्नु भएछ । अब त तपाईं राम्रो भइसक्नु भएछ । खास डर भनेको अप्रेशन हो । अप्रेशन सफल भएपछि डराउनु पर्दैन ।’

अरु बिरामीहरुतिर आँखा लाउँछ हस्ते । कोही बिरामीहरु बर्बराउदै ल्डिरहेका हुन्छन्, कोही टवाँल्ल परेर बसिरहेका हुन्छन्, कोही आफन्तहरुसँग निराशा र हतासको कुरा गरिरहेका हुन्छन् ।

ट्वाल्ल परेर धनसेरले हस्तेलाई हेर्छ । उसको बोलीमा निराशा, उदासिनताको भाव स्पष्टरुपमा पाइन्छ । एक पल्ट कोल्टे फेरेपछि बोल्न थाल्छ, ‘भान्जा, खोई जीवनको के भरोसा र ! अझै पनि मलाई डर लाग्दैछ कि म मेरो अन्तिम इच्छा पूरा गर्न सक्छु कि सक्दिनँ । तर म यहाँबाट निको भइहालेँ भनेचाहिँ नेपाल गइहाल्छु । नेपाल जान्छु जान्छु भन्दाभन्दै आज यो अवस्थामा आइपुगेँ । मलाई के ज्ञान भयो भने भरे भोलि भन्न नहुने रहेछ । जे गर्नु छ अहिलै गरिहाल्नु पर्दो रहेछ । त्रि्रो पनि चाँडै ज्ञान छिपोस् र सफलताको उकालो चढ ।’

१५/१६ दिनको अन्तरमा हस्ते फेरि अस्पताल पुग्छ । धनसेरको अवस्था ठिक हुनको सट्टा बिग्रिँदै गएको आभास मिल्छ । अप्रेशन गरेको घाउ खाटा बसिसकेको थियो तर अहिले पाक्न थालेको हुन्छ । डाक्टरहरुद्वारा अन्य रोगको शंका गरिन्छ । त्यसको निम्ति अप्रेशन गर्नु पर्ने हुन्छ । तर धनसेरको शारीरिक अवस्था दुर्वल भएको कारण अप्रेशन गर्नु असम्भव हुन्छ । उनको बोली केही लर्बराए जस्तो भान हुन्छ । अहिले त उनी धेरै निराश, उदास, दुःखी देखिन्छन् । हतास मनमा हस्तेसँग बोल्छ, ‘भान्जा, हिजोअस्तिसम्म त बाँच्छु जस्तो लागेको थियो । अब म बाँच्न सक्दिनँ । डाक्टरहरुको भनाइ अनुसार मेरो अर्को अप्रेशन हुन सक्दैन । मेरो बुढेसकालमा नेपाल गई बिताउने जुन अम्तिम इच्छा थियो त्यो खतम भयो । मलाई यसमा मात्र धेरै दुः ख छ कि दुःखले बनाएको घरमा एक महिना मात्र पनि बस्न पाइनँ । केही दिन भए पनि आफ्नो कमाइको घरमा बस्न पाएको भए म साह्रै सन्तुष्ट हुने थिएँ । तर आफूले भनेजस्तो नहुने रहेछ । भाविले लेखेको कुरो नमेटिने रहेछ । अब मलाई बाँच्छु भन्ने रति आशा छैन ।’

हस्तेले सम्झाउने भरमग्दुर प्रयास गर्छ, ‘मामा, निराश नहुनुहोस् । तपाईं बाँच्नु हुन्छ । तपाईंले आफ्नो इच्छा पूरा गर्नु हुन्छ । तपाईं अझ धेरै धेरै बाँच्नु हुन्छ । हेर्नुहोस् त गिरीजाप्रसाद कोइराला ८६ वर्षम्म बाँचिरहेको छ । तपाईं त कति नै पो पुग्नु भएको छ र । अझ बीस वर्षबाँच्नु हुन्छ ।’ अरुलाई पनि ढाडस र सहानुभूति दिएर ऊ र्फकन्छ ।

हप्ता दिनपछि धनसेर मामा या चौतीस मामाको देहान्त भएको खबर सुनिन्छ । हस्ते मर्माहत र विक्षिप्त हुन्छ । उसले शून्यताको महसुस गर्छ । उसलाई पनि मृत्युबोधले अठ्याउँछ । उसको घोडारेस जितेर धनिहुने सपना खरानी हुन्छ । ऊ मनमनै गुन्गुनाउन थाल्छ, ‘बिपनामा सपना देख्नु बेकार रहेछ । बिचरा मामा ! अन्तिम इच्छा पूरा नगरी जानु भयो । अलबिदा मामा ।’ धनसेरको मृतआत्माको शान्तिको कामना गर्छ र निराश निराश बसिरहन्छ ।
२० मई २०१०
खोटाङ, दिक्तेल-५

हाल-हङकङ

This entry was posted on Tuesday, August 2nd, 2011 and is filed under लेख विविध, हंगकंग समाचार. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

One Response to “अन्तिम इच्छा – मालिकराम राई ‘वियोगी’”

  1. Bhim Bahadur Rai (Kamal Rai) on August 20th, 2011 at 8:57 am

    dhanyabad bhena!

Leave a Reply