अन्तिम इच्छा – मालिकराम राई ‘वियोगी’
यो गोर्खा भिलेज हो । यो काम् तिन गाउँभित्र पर्छ । साना साना घरहरुको गाउँ हो गोर्खा भिलेज । गोर्खा भिलेज नाम कसरी रहन गयो त्यो लाहुरेहरुले मात्र जान्दछन् । तापनि अनुमान यो लगाउन सकिन्छ कि यो गाउँ गोर्खाहरुसँग सम्बन्धित छ । त्यहींमाथि सेक् कङ भिलेज छ जहाँ पहिला बेलायतको गोर्खा पल्टन थियो । त्यसबेला गोर्खाभिलेज लाहुरे लाहुरेनीहरुको सपिङ सेन्टर थियो रे । यो गाउँ समथर भागमा पर्छ । अलि माथि डाँडाहरु छन- ताई मो शन, न्याम्लेस हिल आदि । जहाँ उहिले लाहुरेहरुले कुद्ने, तालिम गर्ने र वनभोज पार्टि (बिबिक्यु) खाने गर्थे रे । अलि पश्चिमतिर अर्को नाँगो डाँडा कुम्भकर्णजस्तै सुतिरहेको देखिन्छ । त्यही डाडाको फेदीमा अर्को लाहुरे क्याम्प पहिला थिएछ, ताम्मी क्याम्प । त्यहाँका जिर्ण घरहरु अद्यावधि छन् । अलि पर सेङ सुइ, लो वु, लोक मा चाउ, फेन्लिङ आदि चाइना बोर्डरमा पर्छन् । यता पुर्वदक्षिणतिर युन् लोङ र तीन सुइ वाई गाउँ पर्छन् जुन १९९७ देखि गाउँबाट सहरीकरण हुँदैछ । यहाँ ठूल्ठूला घरहरु निर्माण हुँदैछन् । डाँडापारि कउलुन र हङकङ सहर छन् । साँच्चै गोर्खा भिलेज शान्त छ, हराभरा छ, रमाइलो छ, सुन्दर छ, प्राकृतिक छ, खुल्ला र स्वच्छ छ । यहाँ सहरको जस्तो गगनचुक्बी घरहरु छैनन् । यहाँ सहरमा जस्तो होहल्ला छैन, र कृतिमता पनि छैन । 
धनसेर या चौँतीस मामा र हस्तबहादुर या हस्ते भान्जा गोर्खा भिलेज बस्छन् । उनीहरु नेपालबाट आएदेखि यही बस्दैछन् । एक तले घर छ । सामान्य तरिकाले बारेर कोठाहरु बनाइएका छन् । उनीहरुको साथमा अरु पनि बस्छन् । दुःखले घुस्रिप्रि्री बस्नु उनीहरुको बाध्यता भएको छ । चौँतीस मामा सेक्युरिटी काम गर्छन् हस्ते भान्जा कन्स्ट्रक्सन-निर्माण)को काम । एउटा कोठामा बसेको भन्नु मात्र छ, मामाभान्जाको भेट कहिलेकहींको छुट्टीमाबाहेक हतपत हुँदैन ।
आज उनीहरुको छुट्टी एकै दिन परेछ । धेरै दिनको व्यस्त जीवनपछिको यो छुट्टीले दुवैलाई खुशी तुल्याएउँछ । दुवै गफमा मस्त छन् । धनसेर भन्छ, ‘धेरै दिनपछि हाम्रो बिदा सँगै परेछ । अनि भान्जाको खबर के छ त -’
‘खास खबर त केही छैन मामा । काममा गयो आयो ।’ हस्ते धुने लुगाहरु बाल्टीमा राख्छ । कोठाका सामान मिलाउँछ । कोठाको सामान्य सरसफाइ गरिरहन्छ । यताउता गर्दै नै ऊ बोल्छ, ‘आज संयोगले हाम्रो बिदा सँगै परेछ ।’
‘जागिर त त्यै पहिलाकै होला -’ बियर चुरुप्प पार्दै धनसेर बोल्छ, ‘कि अर्को …-’
‘अहिलेसम्म त त्यहीं छ मामा । सकिनै लागेको छ ।’ घोडारेसका टिकटहरु सम्हाल्दै हस्ते बोल्छ ।
‘घोडारेस कतिको मर्दै छ -’ टिकटतिर हेर्दै धनसेर बोल्छ ।
‘केको पर्नु नि मामा । खरानी भइसकेको बेला हिजो बल्ल बल्ल अलिकति परेछ ।’ सबै काम ठप्प रोकेर हस्ते बोल्छ ।
‘कति परेछ भान्जा -’ जिज्ञाशु हुँदै धनसेर बोल्छ ।

‘१ वर्षा १४ हजार जति हारेँको थिएँ सावाँ आएर दुइ चार हजार मरेछ मामा ।’ हस्तेको अनुहार उज्यालिन्छ र मधुरो बन्छ, ‘भाग्यमै नभएपछि के गर्नु नि मामा, टियर्समा १ लाख ५० हजार थियो नि । दुर्इटा मात्र पर्यो । त्यो त कुइनेला र कुइनेला प्लेस मात्र हो ।’
‘हो र भान्जा – एउटाले गर्दा त्यत्रो खतम भए छ हो कि -’ आर्श्चर्य प्रकट गर्दै बियरको एक घुड्को निल्छ । अनि सम्झउन थाल्छ, ‘अब मर्दैन भान्जा । यतिमै खेल्न छाडिदेउ । त्यति भए पनि मरेछ । अब यतिमै सन्तोष गर । पहिला कति लाहुरेहरु खाली हात र्फकन्थे घोडारेसले गर्दा । यसमा मार्नेभन्दा हार्ने धेरै हुन्छन् । एक दुइ जनाले मात्र मार्ने हो । त्यस्तो दुःखले कमाएको पैसा एकै छाक हुन्छ ।’
नेपालबाट आएपछि हस्तेले घोडारेस सिक्यो । उसलाई लाग्यो कि काम गरेर कहिले पैसा कमाउने । बरु घोडारेसबाट बाजी जितेर चाँडै घर र्फकने । उसले रातारात धनि हुने दिवा सपना देख्यो । अनि कमायो घोडारेसमा बाजी थाप्यो । त्यसैले धनसेर यसो भन्छ, ‘होइन मामा, एउटा लाहुरे त अन्तिममा बाजी जितेर घर फर्केको थियो रे । मेरो पनि त्यसरी नै घर र्फकने विचार छ ।’
‘बेस्ट अफ लक ।’ धनसेर उसलाई आशिर्वाद दिन्छ ।
‘मामाले त पहिल्यै काफि पैसा कमाइसक्नु भएको होला । त्यसले गाउँघरमा के के गर्नु भो – अबकोले के गर्ने विचार छ, को नि -’ हस्ते प्रश्न गर्छ धनसेरलाई ।
‘खोइ भान्जा जति कमाए पनि पैसाले नपुग्दो रहेछ । २१ वर्षन्दा बढी नोकरी गरेर पेन्सिन गइयो । समाज सेवा गरियो, मोजमस्तीमा डुबियो । सबै सकियो । अहिले यी फेरि त्यहीं दुःख भोग्दै छु । बसिखाने बेला काममा गयो, आयो, खायो, सुत्यो, उठ्यो फेरि कामतिरै लाग्यो । अबचाहिँ दुइ चार वर्षदुःख गरेर कमाएको पैसाले जीवनको अन्तिम खण्ड सुखले बिताउने विचार छ ।’ धनसेरले अन्तिम इच्छा बताउँछ हस्तेलाई ।
अंग्रेजी दैनिक ‘द साउथ चाइनिज मर्निङ पोस्ट’मा हस्ते घोडाहरुको गौर अध्ययन गरिरहेको हुन्छ । उसलाई आज धेरै बाजी जित्नु छ । बुधबार र आइतबार ऊ यसैमा ध्यानमग्न हुन्छ । उसको तन, मन र धन यसैमा हुन्छ । हङकङ प्रवेशसँगै उसको सपना, कल्पना, जपना यसैमा हुन्छ । धनसेरको कुरोलाई पनि उसले सुनिरहेको हुन्छ । ऊ भन्छ, ‘त्यो कसरी मामा -’
‘पहिला दुःख गरेँ, कमाएँ, खाएँ, सकेँ । अब कमाएको पैसा त्यसरी मोजमस्तीमा उडाउदिनँ । अब आठ दश वर्षनिकै दुःख गर्छु काठमाडौंमा पाँच छ आनाको घडेरी किन्छु । एक दुइ तल्ले घर बनाउँछु । बुढेसकालको जीवन आरामले बिताउछु । एउटा उद्धेश्य नलिई केही गर्न नसकिँदो रहेछ भान्जा ।’ धनसेरले आफ्नो सबै उद्धेश्य हस्तेलाई बताउँछ ।
‘भेरी गुड आइडिया । तपाईंको कामना पुगोस् ।’ शुभकामना व्यक्त गर्छ हस्ते ।
‘मलाई भेरीगुड भनेर पुग्दैन भान्जा, तिमीले पनि मेरो जस्तै उद्धेश्य र विचार लिनु पर्छ । मैले त भोगेर भन्दै छु । यो भावनाको कुरो होइन ।’ हस्तेको अपरिपक्व, आलाकाँचो विचार बदल्ने आसय धनसेरमा हुन्छ । उसले सम्झाउने हरदम प्रयास गर्छ ।
‘म ट्राई गर्छु मामा ।’ धनसेरको मन रखनीमा ऊ बोल्छ ।
‘ट्राईमात्र होइन भान्जा, गरिहाल । भोलि पछुताउनु पर्ला ।’ आदेशै दिन्छ धनसेर ।
उत्तरमा हस्ते उसको आँखामा हेरिपठाउँछ । केही क्षणपछि प्रशंग बदल्दै अनुरोधको भाकामा ऊ बोल्छ, ‘अल्छि मान्नु हुँदैन भने २१ वर्षो लाहुरे जीवनको अविस्मरणीय घटना र क्षणहरु बताइदिनु होस् न मामा ।’
धनसेर लामो सास फेर्छ । हस्तेका आँखामा हेर्छ । विश्वासहीन हाँसो हाँस्छ । उसलाई कसरी विश्वास लागोस् र हस्तेजस्तो जुवाडे, आलाकाँचो केटोले उसको लाहुरे घटना ध्यान दिएर सुनोस् । उसको त्यो आग्रह एउटा ठट्टा जस्तो लाग्छ । अट्टाहाँस हाँसोमा बोल्छ, ‘भान्जालाई लाहुरेहरुको विगत सुन्ने समय छ र – फेरि कसरी बेला न कुबेला यो रहर आयो भान्जालाई -’
‘लाहुरे जीवन दुःखदायी र दर्दनाक हुन्छ रे । मैले मामाहरुबाट सुनेँ कि कहिलेकहींँबाहेक लाहुरे जीवन कहिल्यै सहज र सरल हुँदैन । कहिले ट्रेनिङ, कहिले लडाइँ, कहिले के, कहिले के । सँधै व्यस्त, सँधै खतरा । त्यसैले म तपाईंको अतित जान्न चाहन्छु ।’
उसले धनसेरलाई हेर्छ । धनसेर अलि असहज र अनौठो किसिमले उसलाई हेर्छ । ऊ आफ्नो अतिततिर घोत्लिन थाल्छ । केहीबेरको मौनतापछि ऊ अतितका मीठा नमीठा घटनाहरु रोचक र आकर्ष ढंगले प्रस्तुत गर्न थाल्छ, ‘सन् ६०/६१ तिर म लाहुरे भएर मलया गएँ । ट्रेनिङ भयो । सकियो । त्यसपछि कठिनको जीवन बित्यो । त्यसबेला मलयाका कम्युनिष्टहरु देशको शासन लिन चाहन्थे । उनीहरुको हामीप्रतिको आक्रमण निकै डरलाग्दो थियो । मलयाको विशाल जंगलभित्र उनीहरुको बसाइ थियो । कहिलेकहीँ बाहिर आएर हाम्रो बिजोग बनाउथे । हामी पनि विशाल जंगलभित्र जानु पथ्र्यो । हप्तौं, महिनौं जंगल जंगल बस्नु पथ्र्यो । न खान पाइन्थ्यो, न सुत्न । एकातिर कम्युनिष्टहरुको आक्रमण, अर्कोतिर बाघ, भालु र र्सपको डर । झन अर्कोतिर खान बस्नको समस्या । कति साथी त हेर्दा हेर्दै लड्थे । कोही फिर्थे कोही माथि पुग्थे । पहिला पहिला त कम्युनिष्ट भन्ने मान्छे होइन, जनावर लाग्थ्यो । सिनियरहरुले भन्ने गर्थे, ‘उनीहरु त झ्याप्प आउँछन् आँखाको झिमिकमा सबलाई फाँडेर बेपता हुन्छन् । उनीहरु त अचम्मको मान्छे हुन्छन् । साधारण मान्छे भए त्यति छिटो के गथ्र्यो ।’ त्यसबेला हाम्रो मनमा ठूलो डर पैदा हुन्थ्यो । मनमनै सम्झन्थ्यौँ, त्यो अजीवको मान्छे कस्ता होलान् । पछि आमनेसामने भइयो, लडाइँ गरियो । मान्छे त मरन्च्याँसे, लिखुरे, लुते, भाटे देखिन्थे तर बहुत छिटो, छरितो र ज्याद्रो । उनीहरु देखा परेपछि एक सासमा कुनै न कुनै घटना घटाएरै छाड्ने । हान्नै नपाइने । कथंकदाचित हान्न पाए पनि हतपत नढल्ने, साह्रै ज्याद्रो । काटे, कुटे पनि केहीझैं नमान्ने साह्रै ज्याद्रो । हाम्रो हातहतियार, लडाइँका सामान अनगिन्ती थिए । तर ती हाम्रा सामान उनीहरुको रण कौशलता र विशाल जंगलका कारण बेकम्मा थिए । साँच्चै भान्जा ती कम्युनिष्टहरु साह्रै खतरा थिए । हाम्रो जति हातहतियार भए संसार जित्थे होलान् । अहिले हाम्रो देशका माउवादी त्यस्तै त होला नि होइन र ?’
भय र त्रासपूर्ण मानसिकतालाई अलि रोचकता प्रदान गर्न हस्तेले प्रशंग मोड्छ, ‘अनि मामा रमाइलो पनि त गर्नु भयो होला नि ?
निराश मुहारलाई परिवर्तन गर्दै धनसेर बोल्छ, ‘रमाइलो त भान्जा जहाँ पनि एउटै हो । तरुनीको खेती नै विश्व व्यापार हो भन्दा फरक नपर्ला । तरुनीहरु संसारभरि नै पाइन्छ । मरिन्छ कि बाँचिन्छ भन्ने लाहुरेहरुको मानसिक रोग हो । अलि फुर्सत पायो कि मोजमस्तीमा मस्त भइहालिन्छ । साह्रै रमाइलो गरियो भान्जा ।’
४/५ वर्षो सँगै बसाइपछि धनसेर र हस्ते छुट्टै बस्छन् । त्यसपछि भेट कम हुन्छ । तर फोनमा कहिलेकहीं दुइबीच कुरो हुन्छ । कुरो उहीं हुन्छ, कति पैसा कमियो, त्यो पैसाले के गरियो, घोडारेसबाट कति बाजी जितियो, गाउँघरको खबर के छ, परिवारजन, नरनाताको हालखबर के छ आदि । कहिलेकहीं नेपालको राजनीतिक गतिविधिको कुरो पनि हुन्छ । माओवादीको विद्रोह, राजा ज्ञानेन्द्रको संसद विघटन र कुजस्ता विषयमा छलफल, विचार, विमर्श हुन्छ । नेपालीको हङकङ प्रवेश सँगसँगै पैसा कमाउने र जीवन सुन्दर बनाउने प्राथमिकतालाई भुलेर विकृति, विसंगति, कुसंस्कारमा लिन भएको कुरोलाई पनि धेरै विमर्श गर्छन् ।
समय बित्दै जान्छ । धनसेरको सपना साकार हुँदै जान्छ । उसले काठमाडौंमा पाँच आनाको एउटा घडेरी किन्छ । केही वर्षछि दुर्इ तल्ले घर बनाउँछ । अर्को एउटा तल्ला थप्ने प्रयासमा हुन्छ ।
हस्ते त्यस्तैगरि घोडारेसमा तल्लिन हुन्छ । उसले भनेजस्तो बाजी जित्न सकेको हुँदैन । एक रेसमा ३/४ हजार बाजी थाप्छ, हार्छ, मुर्मुरिन्छ, पछुताउँछ, छटपटाउँछ, निधार ठोक्छ, भाग्यलाई सराप्छ । त्यो हारेपछि कहिल्यै नखेल्ने वाचा गर्छ । थोरैबाट संचित गरेर धेरै बनाउने विचार गर्छ । तर अर्को रेस आएपछि ती वाचा, विचार, सब भुल्छ अनि फेरि बाजी थाप्छ । सँगैको हङकङ प्रवेशको ७ वर्षा धनसेरले दुइ तल्ले घर बनाइसकेको हुन्छ । तर बिचरा हस्तेले केही गरेको हुँदैन । बरु ऊ ऋणमा डुबेको हुन्छ । घोडामा हारेको एकमुष्ट रकम हिसाब गर्छ । उसले धेरै हारिसकेको हुन्छ । उसलाई यो कुलतले मात्र गाँजेको हुँदैन । फुटबल, मार्कसिक्स, म्यारिजको कुलतले पनि उसलाई गाँजेको हुन्छ । ऊ सिर्फयी कुलत पर्तिको लागि मात्र काम गरिरहेको हुन्छ ।
कउलुन पार्क शहरको बीचमा पर्छ । अर्थात चिम् शा चुइ र जोर्डनको बीचमा अवस्थित छ । यहाँ पौडीबाजहरुको निम्ति स्वीमिङपुल छ । प्रेम गर्नेहरुको लागि चौर, फलैँचा, रुखका छहारी छन् । रमितेहरुका लागि पोखरी, रुखबिरुवा, छहरा, चराचुङ्खी, माछा, कछुवा, आदि छ । यहाँ चराचुरुङ्खीको चिँचिँ सुन्न पाइन्छ । यहाँ सुन्दर रुखबिरुवा, फूल आदि देख्न पाइन्छ । शान्त, सुन्दर र हरियो रुखबिरुवाको छहारीमा दिनभरिको थकाइ मार्न सकिन्छ । चौरहरु, फलैँचाहरु, पोखरीहरु, ससाना छहराहरु देख्न पाइन्छ । यो ठाउँमा पुग्दा एक पटक औधि रमाइन्छ । त्यसैले धेरै मानिसको जमघट हुन्छ यहाँ । जोर्डनवासीहरु त यहींबाट आवतजावत गर्छन् । देश विदेशकाहरुको भेटघाट हुने ठाउँ पनि यहीँ हो । आज यहाँ धनसेर र हस्तेको भेट हुन्छ । रुखको सितलमा हावा खाँदै गफ गरिरहेका हुन्छन् । धनसेर भन्छ, ‘हैन हौ भान्जा आराम छ ।’
‘आरामै छु मामा । अनि मामाको नि -’ नमस्तेको आदनप्रदानपछि हस्तेले जवाफ फर्काउँछ ।
‘मेरो पनि खबर राम्रै छ । अनि घोडारेस खेलिन्दै छ कि छाडियो – कतै ठूलो रकम त परेको छैन -’ धनसेरको जिज्ञाशा हस्तेको घोडारेस मै हुन्छ ।
‘कहाँ हुनु नि मामा । आज पर्ला, भोलि पर्ला भन्दा भन्दा कहिल्यै परेन । एक पटक सिस्क्स अप झण्डै परेको थियो । १२ लाख ज्याकपोट थियो । ६ अंक मिल्नु पर्नेमा ५ अंक मात्र मिल्यो । अन्तिमको एक अंक नआएकोले १२ लाख ३५ हजार खेरो गयो । यो ७ वर्षा कमाएको जति सबै हारिसकिए छ । अबचाहिँ हतास लाग्न थाल्यो ।’ धनसेरको जिज्ञाशा कम गर्ने आसयले हस्तेले यस्तो उतर दिन्छ ।
‘राम ! राम ! राम ! भान्जा ।’ लामो सास तानेर धनसेर बोल्न थाल्छ, ‘७ वर्षो कमाइ सबै हारिसक्यौ । यत्रो समयमा अलि अलि बचत गरेर यसो घडेरी किनिरहेको भए अहिले त्यसको दाम कति पुगिसक्थ्यो – बेच्दै कति फाइदा हुने । मैले आनाको ३ लाख ५० हजारले पाँच आना जग्गा लिएको थिएँ । अहिले त्यहाँ १० लाख आना छ जुन पाँच आनाको ५० लाख हुन्छ । अहिले त्यहाँ दुइ तल्ले घर बनाएको छु । बनाइसकेको छैन ८० लाख दिन आएका छन् । तर म त्यो घर बेच्न चाहन्नँ । म चाहन्छु कि अब दुइ तीन वर्ष काम गरेर जीवनको अन्तिम क्षण त्यहीं बिताउनेछु । यदि मैले भनेजस्जै भान्जाले गरेको भए अहिले कति हुन्थ्यो । विनासे काले विपरितम् बुद्धि भनेको यहीं त होला नि ।’
‘हो मामा, तपाइंले भन्नु भएको ठिक थिएछ । तर मेरो विवेकले तपाईंको कुरो मानेन । आज पश्चाताप गरेर के गर्नु । म त प्रायश्चित भोग्नुको विकल्प देख्दिनँ । अब यो बुद्धि यो चेतना अर्को पुस्तालाई सुम्पिनु पर्ला । मामाको त आधा इच्छा पूरा भइसके छ । अब त अन्तिम इच्छा पुग्न मात्र बाकीँ रहेछ होइन मामा ।’ अट्टाहाँस निकाल्छ हस्ते ।
‘हो त नि भान्जा । अब मेरो अन्तिम इच्छा पूरा हुनेवाला छ । ब्याजको लोभले केही पैसा नाताहरुलाई दिएको थिएँ फसिरहेको छ । पैसा नपुगेर बैँकबाट केही ऋण लिएको छु । त्यो ऋण तिरेर केही खर्च बनाएपछि म नेपाल निक्लिहाल्छु ।’
धनसेरले अर्को तल्ला पनि थप्यो । बल्ल तल्ल ऋण पनि छिमल्यो । घरले मात्र भएन । काठमाडौंजस्तो महंगो ठाउँमा बस्नु परेपछि बसेर खाने पैसा त हुनै पर्यो । हुन त उसको पेन्शिन थियो जसले जेनतेन खान पुग्थ्यो तर मान्छेको मनमा लोभले बास गरेको हुन्छ । त्यसैले उसले अझ केही कमाएर जाने विचार गर्यो । यसरी १२ वर्षबित्यो । परिवार र आफन्तहरुको अनुरोधले अन्ततः उ नेपाल निक्लिने भयो, दशैँ र तिहार पारेर । हस्तेले पनि थाहा पाउँछ । फोनबाटै शुभयात्रा र अग्रिम बधाइको कामना दर्सउछ ।
जब धनसेरको जाने दिन नजिक आइरहेको थियो पेट दुख्ने बिरामीले ऊ सिकिस्त हुन्छ । उसलाई हस्पिटल भर्ना गरिन्छ । पेट दुख्ने बिमार अचानकचाहिँ थिएन । पहिल्यैदेखि दुख्ने गथ्र्यो । तैपनि ऊ हस्पिटल भर्ना भएको थिएन । यसपालिचाहिँ निकै साह्रो पेट दुखेकोले ऊ अस्पताल जान्छ । ऊ हस्पिटल भर्ना हुन्छ । केही दिनपछि आन्द्राको अपरेशन हुन्छ । यसबेला उनी समान्य देखिन्छन् । इष्टमित्र, नरनाता, चिने जानेका नक्बरी, सिनियर जुनियर लाहुरेहरु या आफन्तहरु भेट्न आउँछन् । हस्ते पनि उसलाई भेट्न जान्छ ।
ऊ हस्पिटल पुग्दा ढोकाबाहिर उनका छोराछोरी नातिनातिनीहरु र अन्य पाहुना हुन्छन् । ऊ ढोकामा बसेका कर्मचारीहरुलाई अनुमति मागेर सरासर भित्र पस्छ । भित्र उनकी श्रीमति, ज्वाइँ र एउटा गाउँले भाइ हुन्छन् । ज्वाइँ उनलाई सम्हालिरहेका हुन्छन् । श्रीमति र भाइ कतै सघाउन पर्छ कि भनी पर्खिरहेका हुन्छन् । उसले, ‘नमस्ते मामा, माइजु’ भन्छ र बिमारीको अवस्थाको जानकारी लिन्छ । उतानो परेर सुतिरहेको धनसेरको मुहार हेर्छ । पहिला जस्तो थियो त्यस्तै देख्छ । पाइपबाट तरल पदार्थ खुवाइन्दै गरेको र अलि अलि गिलो भात पनि खान सम्ने भएको कुरो उसलाई थाहा हुन्छ । बुढेसकालले गालाहरु चाउरी परेकोबाहेक मुहारको कान्तिमा कुनै परिवर्तन आएको हुँदैन । निकै दुब्लाएको हुन्छ ऊ । हाडमा मासु टाँसिएको हुन्छ । उनको बोलीमा जुन दम थियो यथावत हुन्छ । सान्त्वना र ढाढस दिदै हस्ते बोल्छ, ‘मामा, नआतिनु होला । शरीर भएपछि रोग त लागिहाल्छ नै । अब त धेरै राम्रो भइसक्नु भएछ । खाना पनि खान थाल्नु भएछ । अब त तपाईं राम्रो भइसक्नु भएछ । खास डर भनेको अप्रेशन हो । अप्रेशन सफल भएपछि डराउनु पर्दैन ।’
अरु बिरामीहरुतिर आँखा लाउँछ हस्ते । कोही बिरामीहरु बर्बराउदै ल्डिरहेका हुन्छन्, कोही टवाँल्ल परेर बसिरहेका हुन्छन्, कोही आफन्तहरुसँग निराशा र हतासको कुरा गरिरहेका हुन्छन् ।
ट्वाल्ल परेर धनसेरले हस्तेलाई हेर्छ । उसको बोलीमा निराशा, उदासिनताको भाव स्पष्टरुपमा पाइन्छ । एक पल्ट कोल्टे फेरेपछि बोल्न थाल्छ, ‘भान्जा, खोई जीवनको के भरोसा र ! अझै पनि मलाई डर लाग्दैछ कि म मेरो अन्तिम इच्छा पूरा गर्न सक्छु कि सक्दिनँ । तर म यहाँबाट निको भइहालेँ भनेचाहिँ नेपाल गइहाल्छु । नेपाल जान्छु जान्छु भन्दाभन्दै आज यो अवस्थामा आइपुगेँ । मलाई के ज्ञान भयो भने भरे भोलि भन्न नहुने रहेछ । जे गर्नु छ अहिलै गरिहाल्नु पर्दो रहेछ । त्रि्रो पनि चाँडै ज्ञान छिपोस् र सफलताको उकालो चढ ।’
१५/१६ दिनको अन्तरमा हस्ते फेरि अस्पताल पुग्छ । धनसेरको अवस्था ठिक हुनको सट्टा बिग्रिँदै गएको आभास मिल्छ । अप्रेशन गरेको घाउ खाटा बसिसकेको थियो तर अहिले पाक्न थालेको हुन्छ । डाक्टरहरुद्वारा अन्य रोगको शंका गरिन्छ । त्यसको निम्ति अप्रेशन गर्नु पर्ने हुन्छ । तर धनसेरको शारीरिक अवस्था दुर्वल भएको कारण अप्रेशन गर्नु असम्भव हुन्छ । उनको बोली केही लर्बराए जस्तो भान हुन्छ । अहिले त उनी धेरै निराश, उदास, दुःखी देखिन्छन् । हतास मनमा हस्तेसँग बोल्छ, ‘भान्जा, हिजोअस्तिसम्म त बाँच्छु जस्तो लागेको थियो । अब म बाँच्न सक्दिनँ । डाक्टरहरुको भनाइ अनुसार मेरो अर्को अप्रेशन हुन सक्दैन । मेरो बुढेसकालमा नेपाल गई बिताउने जुन अम्तिम इच्छा थियो त्यो खतम भयो । मलाई यसमा मात्र धेरै दुः ख छ कि दुःखले बनाएको घरमा एक महिना मात्र पनि बस्न पाइनँ । केही दिन भए पनि आफ्नो कमाइको घरमा बस्न पाएको भए म साह्रै सन्तुष्ट हुने थिएँ । तर आफूले भनेजस्तो नहुने रहेछ । भाविले लेखेको कुरो नमेटिने रहेछ । अब मलाई बाँच्छु भन्ने रति आशा छैन ।’
हस्तेले सम्झाउने भरमग्दुर प्रयास गर्छ, ‘मामा, निराश नहुनुहोस् । तपाईं बाँच्नु हुन्छ । तपाईंले आफ्नो इच्छा पूरा गर्नु हुन्छ । तपाईं अझ धेरै धेरै बाँच्नु हुन्छ । हेर्नुहोस् त गिरीजाप्रसाद कोइराला ८६ वर्षम्म बाँचिरहेको छ । तपाईं त कति नै पो पुग्नु भएको छ र । अझ बीस वर्षबाँच्नु हुन्छ ।’ अरुलाई पनि ढाडस र सहानुभूति दिएर ऊ र्फकन्छ ।
हप्ता दिनपछि धनसेर मामा या चौतीस मामाको देहान्त भएको खबर सुनिन्छ । हस्ते मर्माहत र विक्षिप्त हुन्छ । उसले शून्यताको महसुस गर्छ । उसलाई पनि मृत्युबोधले अठ्याउँछ । उसको घोडारेस जितेर धनिहुने सपना खरानी हुन्छ । ऊ मनमनै गुन्गुनाउन थाल्छ, ‘बिपनामा सपना देख्नु बेकार रहेछ । बिचरा मामा ! अन्तिम इच्छा पूरा नगरी जानु भयो । अलबिदा मामा ।’ धनसेरको मृतआत्माको शान्तिको कामना गर्छ र निराश निराश बसिरहन्छ ।
२० मई २०१०
खोटाङ, दिक्तेल-५
हाल-हङकङ



dhanyabad bhena!