जुरेफिस्टा-मालिक राम राई ‘वियोगी’खोटाङ, दिक्तेल- ५ डाँडागाउँ

  
त्यसबेला मदन सानै थियो । दिउँसो गोठाला जान्थ्यो । गोठालाबाट आएपछि जंगल, खोल्साखोल्सी जान्थ्यो । रुखको डाली, टोड्कातिर, खोलाको चेपचाप, भित्तातिर ऊ चराको गुँड खोज्ने गथ्र्यो । त्यसबेला चराको एउटामात्र गुँड भेटाउन पनि साथीहरुकोछेउमा शान र रवाफको कुरो थियो । एउटाभन्दा बढी चराको गुँड भेटाउन र अझ बच्चासहितको गुँड भेटाउन त झन गर्वको कुरो थियो ।एक पटक मदनले एउटा जुरेफिस्टाको गुँड भेटायो । ऊ साह्रै खुशी भयो । अझ फिस्टिनीले फुल पारेपछि त ऊ झन खुशी भयो । फुल पारेर ओथारो बस्न शुरु गरेपछि उसले फिस्टिनी हत्याको योजना बनाउन थाल्यो ।
एक दिन गोधुलीसाँझ परिसकेको थियो । मदनले बाछापाँडा लगायो । गाईवस्तुलाई घाँस लगायो । अनि, विस्तारै एउटा हत्याइच्छा लिएर ऊ खोलातिर लाग्यो जहाँ फिस्टिनीले आफ्नो गुँडलाई तताइरहेकी थिई । अन्धकारले निकै गाँजिसकेको थियो । मान्छे चिन्न पनि निकै गाह्रो पथ्र्यो । अन्धकारकै कारण एक तमासको डर र त्रास उसको मनमा आइरहेको थियो । यस्तो लाग्थ्यो कि कुनबेला कुनै अत्भूत चिजले उसलाई स्वात्तै निल्ने छ । ऊ अगाडि त निकै गहिरिएर हेथ्र्यो अझ पछाडि पनि बारम्बार हेरिरहन्थ्यो । अझ खोलोभित्र पसेपछि त झन डरमर्दो अन्धकार थियो । लाग्थ्यो, अब फिस्टिनीको होइन उसको काल आइरहेको छ । कालले उसको घाँटी निमोठी सक्यो । यस्तो डर र त्रासमा पनि ऊ अघि बढिरहेकै थियो । ‘जाबो एक मुठीको फिस्टिनी पक्रन पनि म यति विघ्न डारउनु पर्ने -’ भनेर मनमनै प्रश्न गथ्र्यो । अन्धकारलाई वास्ता गर्दै, वेवास्ता गर्दै ऊ फिस्टिनीको गुँड छोप्न पुग्यो । दिनभरि तालिम गरेकैले मात्र मदन त्यो गुँडमा हात पुर्याउन सफल भयो नत्र त्यो अन्धकारले ऊ असफल हुने थियो । विचरी फिस्टिनी, एउटा निर्दयी, मानवताहीन मानवको नाममा दानवको हातले गुँडमै चेपिएर मर्ने तरखरमा थिई । कालको पनि महाकाल मान्छे भनाउदा अपराधीको हातमा परेको फिस्टिनीले के नै पो गर्न सक्थी र । उसले आत्मार्समर्पण गरी । नगरोस् पनि कसरी र, उसको उम्कने विकल्पै थिएन ।
यसबेला भने मदनले अन्धकार, डर, त्रास सब भुलिसकेको थियो । त्यसबेला उसमा यस्तो अहम् बसेको थियो कि यो संसारमा ऊ जतिको शक्तिशाली कोही पनि छैनन् । यो संसार उसको हो, ऊ यो संसारको अधिपति हो । ऊ गजक्क फुलेर बाटो लाग्यो, लख्रक्क लख्रक्क ।हातमा फिस्टिनी च्यापेरै मदन घर पुग्यो । घरमा त कसलाई देखाउनु थियो र उसको त्यो पुरुषार्थ – ठूली बहिनी सानै थिई । फेरि, ऊ परी नारी । अलि शक्तिशालीलाई भए पो त्यो पुरुषार्थ देखााउनु – बाबुलाई देखाउँ भने आफैँलाई झपार्ने डर । ऊ आफ्नो पुरुषार्थ देखाउने विचारले बाहिरबाहिरै लाग्यो पारितिर जहाँ उसका दौँतेरी साथीहरु थिए । त्यसबेला उनीहरुमा चराको गुँड जसले भेटाए पनि, गुँडबाट बच्चा ल्याए पनि या माउ मारे पनि एकअर्कालाई भन्ने या देखाउने चलनै थियो । त्यसैकारण मदनले कुमार दाइ र हर्के कान्छालाई त्यो च्यापिएर मर्न लागेकी जुरेफिस्टिनी देखाउन भनी लग्यो । तीन भाइको भेट भयो । मदनले फिस्टिनीको टाउको मात्र देखाउदै भन्यो, ‘हेर, आज मैले जुरेफिस्टाको माउ जिउँदै पक्रेको छु ।’ कुमार दाइले फिस्टिनीलाई हातमा लियो । ओइटाइ पल्टाइ हेर्यो । तर उसको अनुहारमा त्यस्तो खास परिवर्तन देखिएन । कान्छोले पनि दाइको हातबाट त्यो फिस्टिनी लियो । तर उसमा पनि कुनै परिवर्तन देखिएन । उसले त सोचेको थियो कि त्यो फिस्टिनी देखेपछि दाजुभाइ मख्खै पर्ने छन् । वास्तवमा कुमार दाइ र हर्के कान्छाले त फिस्टा होइन ढुकुरको माउ कति पटक मारिसकेका थिए, माउसहित बचेरा कति पटक पक्रिसकेका थिए । अरु घुजर्ुर्की, लाहाचे, रुपी, हलेसोका बच्चा माउ पनि ल्याइसकेका थिए । उनीहरुको निम्ति त्यो फिस्टिनी पक्रन ठूरो कुरो थिएन । त्यसैले उनीहरुमा कुनै उत्सुक्ता र उतेजना देखिएन । तर मदनको निम्ति त्यो ठूलै कुरो थियो । किनकि उसले र्सवप्रथम त्यो माउ चरा पक्रन सफल भएको थियो । उनीहरुबाट त्यस्तो खासै खुशीको प्रतिक्रिया नभएपछि तल्तिरका साहिंला र मेचे दुई जना दाइ, सीताराम, राजकुमार र सम्पूर्ण तीन जना भाइ, फूलचन्द्र एक जना भानिज आदिलाई फिस्टिनी देखाउन ओरालो लाग्यो । प्रथमतः ऊ फूलचन्द्र भान्जाको घरमा गयो । भान्जालई एकान्तमा बोलाएर मर्न लागेको त्यो मुठीभित्रको चरी देखाउदै भन्यो, ‘हेर त भान्जा, आज मैले जुरेफिस्टाको माउ पक्रेको छु ।’ उनमाचाहिँ केही उत्सुक्ता देखियो । उत्साहित हुँदै उसले त्यो चरी माग्यो, ‘खोई त मामै, म एक पटक हेर्छु कति जोगाउदै मुठीभित्रको चरा उसले फूलचन्द्रलाई दियो । उसले चराको प्राणै जालाझैँ गरी पक्रेको देखेर फूलचन्द्रलाई भन्यो, ‘भानिज, बिस्तारै पक्र है, मर्न सक्छे ।’ उसले केहीक्षण हेरेपछि मदनले लियो । अनि सीतारामलाई देखायो । उसमा पनि केही खुशी र उत्सुक्ताको चमक देखियो । सानै भएकोले होला सम्पूर्णले चाहिँ उसको कामको निकै प्रशंसा गर्यो । एक पटक त उसले त्यो माउ दिन अनुरोध पनि गर्यो ।
 भाइहरु र भान्जालेचाहिँ त्यो कामको केही प्रशंसा गरे तापनि दाइहरुलेचाहिँ त्यति रुचि देखाएनन्, वास्ता र प्रशंसा गरेनन् । यसो हेरेजस्तो गरेर नाक खुम्चाए । यस्ता केही तीता केही मीठा प्रतिक्रियाले उसको उचाइमा पुगेको खुशी शिथिल हुँदै गयो । पारि तर्दाको असीम खुशी वारि तर्दा सिधिन लागेको थियो ।  तैपनि एक दुई दिन त गर्वले उसका खुट्टा भुइँमै भएनन् । साथीहरु भेट्यो कि ऊ फिस्टिनी घटना बताइहाल्थ्यो । प्रशंगबस नचिनेलाई पनि घटनाको विवरण र आफ्नो पुरुषार्थ बताइहाल्थ्यो । त्यो घटनाले केही व्यक्तिलाई केही असर पारेजस्तै देखिन्थ्यो भने ऊ निकै खुशी हुन्थ्यो । तर धेरै जनालाई त कुनै प्रभावै पारेको देखिन्दैनथ्यो बरु फिस्टिनीप्रति दया, माया, सहानुभूति देखिन्थ्यो । धेरैले भने, ‘बिचरा ! च्वा च्वा ! कस्तो माया पनि नलागेको अपराधी हौ । त्यति सानो चरामा के पाउछौ र तिमीले मारेको – बरु मार्र्छौ भने अलि ठूलो चरा मार न ।’ एक दुई दिन ऊ गर्व र घमण्डले फुले पनि अन्त्यमा ऊ पश्चाताप र अपराधबोधले थिचिन्दै गयो । आत्माग्लानी र प्रायश्चितमा पर्दै गयो । ऊ मर्माहत र विक्षिप्त बन्दै गयो । कारण थियो फिस्टाको वेदना र चित्कार । प्रलाप र रोदन ।
 फिस्टिनीको हत्याको भोलिपल्टदेखि फिस्टा-फिस्टिनीको लोग्ने या भाले)ले रुएर वनै, खोलै थर्काउन थाल्यो । घरि गुँडको नजिकै गएर, घरि पल्लो रुखमा गएर, घरि वल्लो रुखमा बसेर, घरि माथि माथि उडेर स्वरै फाट्नेगरि, स्वरै सुक्नेगरि, कानै दुख्नेगरि, कराइरहन्थ्यो, रोइरहन्थ्यो, चिच्याइरहन्थ्यो । ऊ घरि घरि त गुँड भएको ठाउँमा टाँसिएर यताउति हेथ्र्यो, अलिक नजिकैका हाँगा र बिरुवामा बसेर उसकी फिस्टिनीलाई खोजिरहन्थ्यो । कतै नपाएपछि उसैगरि रुने, कराउने, चिच्याउने गथ्र्यो । त्यसदिन ऊ दिनभरि करायो अर्थात रोयो । त्यो फिस्टा रोएको, कराएको, चिच्याएको उसले सुनिरहन्थ्यो, हेरिरहन्थ्यो । फिस्टाको त्यो प्रलाप, वेदना, चित्कार, रोदन धेरै दिन सुनेर मदनको मन खिन्न र तीतो भयो । ऊ गाईवस्तु गोठ लान्थ्यो । पश्चातापले आफैँ मर्र्मुरिन्थ्यो । आत्माग्लानी र अपराधबोधले पिल्सिन्थ्यो । गाईगोरु चराउन भोलिपल्ट डाँडा पुर्याउँदा पनि ऊ-फिस्टा) त्यसरी नै कराइरहेको हुन्थ्यो जसरी पहिलो दिन कराइरहेको हुन्थ्यो । घरि कहाँ, घरि रुखमा, घरि गुँड छेउमा गएर ऊ दुई महिना जति त्यसरी नै रोइरहृयो, कराइरहृयो, चिच्याइरहृयो । त्यसपछि उसले अलिक रुने, कराउने कम गर्यो । बिचराको ! स्वर सुक्यो होला, घाँटी दुख्यो होला । त्यसपछि ऊ घरि घरिमात्र कराउन, रुन थाल्यो । घरि घरि त पहिलाजस्तै कोकोहोलो मच्चाएर रुन्थ्यो, कराउथ्यो । अझ पछिदेखि त ऊ सानै स्वरमा रुन होइन कराउन थाल्यो । त्यसपछिचाहिँ उसको मन पनि शान्त भयो । साधारण र सहज बन्यो । नत्र भने फिस्टाको भन्दा उसको मन बढी रोयो । फिस्टाले रोउसको वेदना, व्यथा सहन सक्यो तर उसले त्यो वेदना, चित्कार र प्रलापलाई सुन्न सकेन, सहन सकेन । बरु पश्चाताप र प्रायश्चितले मुर्छा मुर्छा पर्यो । हो, उसले आफ्नो विवेकहीनतालाई धिकार्नुबाहेक अर्को विकल्प पनि त थिएन । ऊ छटपटाउनु छटपटायो, निचोरिनु निचोरियो । ऊ नुनबिनाको अलिनु तिहुनजस्तै भएर, निचोरेको सुन्तोलाजस्तै निचोरिएर गोठाला गथ्र्यो । दुई तीन महिना जति त्यो फिस्टा त्यसरी रोएर लापता भयो । उसले निकै विचार गर्यो, फिस्टालाई निकै खोज्यो कि ऊ त्यतै कतै बसिरहेको छ । कतै नकर्राई उडिरहेको छ, त्यतै कतै चारो खोज्दै छ । तर उसले फिस्टालाई कतै देखेन । कतै भेटेन । त्यस्तै एक वर्षछि ऊ-फिस्टा) देखा पर्यो । अर्थात फेरि निस्कियो । ऊ पहिलाजस्तै वनै थर्काउनेगरि रुन, कराउन थाल्यो । अटुटरुपमा दिनभर रोइरहृयो, कराइरहृयो । तर ऊ यसपालि पहिला जसरी एक महिना रोएन । हप्ता दिनसम्म रोएपछि कहिलेकहीँ कराउने, कहिलकहीँ गाउने गर्न थाल्यो । पहिलाजस्तो गुँडमा गएर रुने पनि गरेन । ऊ रुखमाथि माथि नै करायो, गायो । यस्तै एक दुई महिना जति बसेर ऊ फेरि हरायो   यसरी ऊ दुई तीन वर्षरोयो, करायो, गायो । तर तेस्रो वर्षछि ऊ एक्लो थिएन । ऊसँग एउटी फिस्टिनी पनि थिई । सायद उसले अर्को बिहे गरेको हुनसक्छ । फिस्टिनी ल्याए पनि फिस्टाचाहिँ केही दिन बेजोडले रोइरहृयो, कराइरहृयो जसरी पहिलो वर्षरुमा ऊ रुने कराउने गथ्र्यो । नया फिस्टिनी उसैको छेउमा हुन्थी । मौनतामा उसले फिस्टालाई हेरिरहेकी हुन्थी । फिस्टाको रुवाइमा उसका आँखाहरु रसाउन खोज्थे । सहज वातावरण बनेपछि दुई दम्पती चाराको खोजीमा लाग्थे । उनीहरुको दाम्पत्य जीवन यसरी शुरु भए तापनि उनीहरुले त्यहाँ गुँड लाएनन् । बच्चा बनाएनन् । सायद उनीहरुले सोचे होला मदन भन्ने दानवले उनीहरुको हत्या गर्ने छ र गुँड भत्काइ दिने छ । उनीहरुको सुमधुर सम्बन्ध टुटाइ दिने छ । उनीहरुको अविछिन्न प्रेम छुटाइ दिनेछ । उनीहरुको असीम प्यार ठुक्र्याइ दिनेछ । मदन प्रायश्चित भोग्न तयार थियो । उसले यो पनि निर्णय गरिसकेको थियो कि अब आजीवन उसले जानी जानी प्राणी हत्या गर्ने छैन । तर फिस्टाको यो व्यवहारले मदन अझ दुखित भयो । उसले के सोचेको थियो भने ती दई दम्पतीले घरजम गरोस्, गुँड बनाओस्, बच्चा हुर्काओस् अनि स्वतन्त्ररुपमा उडोस् । उनीहरुको आत्मा रक्षाको निम्ति ऊ लागि पर्ने छ । उनीहरुको पलायनले ऊ व्यथित मात्र बनेन ऊ आफैँलाई धिकाथ्र्यो, ‘थुइक्क तेरो बुद्धि, त्यो नाथे एक मुठी फिस्टिनीलाई मारेर न अघाउन्जेल खान पाइस् न सन्तोषले नै बाँच्न सकिस् । न उसको मासुले कुनै महत्वपूर्ण र चमत्कारकारिक काम गरिस्, न त्यसलाई बेचेर धन कमाउन सकिस् । एउटा दुधे आन्द्रा अघाउन नसक्ने एक पित्को मासुले अब तँ जलेर मर् । छटपटिन्दै, पिल्सिदै मर् ।’
२२ जनवरी २०११

This entry was posted on Tuesday, July 5th, 2011 and is filed under लेख विविध, Latest Update. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

Leave a Reply