जुरेफिस्टा-मालिक राम राई ‘वियोगी’खोटाङ, दिक्तेल- ५ डाँडागाउँ

त्यसबेला मदन सानै थियो । दिउँसो गोठाला जान्थ्यो । गोठालाबाट आएपछि जंगल, खोल्साखोल्सी जान्थ्यो । रुखको डाली, टोड्कातिर, खोलाको चेपचाप, भित्तातिर ऊ चराको गुँड खोज्ने गथ्र्यो । त्यसबेला चराको एउटामात्र गुँड भेटाउन पनि साथीहरुकोछेउमा शान र रवाफको कुरो थियो । एउटाभन्दा बढी चराको गुँड भेटाउन र अझ बच्चासहितको गुँड भेटाउन त झन गर्वको कुरो थियो ।एक पटक मदनले एउटा जुरेफिस्टाको गुँड भेटायो । ऊ साह्रै खुशी भयो । अझ फिस्टिनीले फुल पारेपछि त ऊ झन खुशी भयो । फुल पारेर ओथारो बस्न शुरु गरेपछि उसले फिस्टिनी हत्याको योजना बनाउन थाल्यो ।
एक दिन गोधुलीसाँझ परिसकेको थियो । मदनले बाछापाँडा लगायो । गाईवस्तुलाई घाँस लगायो । अनि, विस्तारै एउटा हत्याइच्छा लिएर ऊ खोलातिर लाग्यो जहाँ फिस्टिनीले आफ्नो गुँडलाई तताइरहेकी थिई । अन्धकारले निकै गाँजिसकेको थियो । मान्छे चिन्न पनि निकै गाह्रो पथ्र्यो । अन्धकारकै कारण एक तमासको डर र त्रास उसको मनमा आइरहेको थियो । यस्तो लाग्थ्यो कि कुनबेला कुनै अत्भूत चिजले उसलाई स्वात्तै निल्ने छ । ऊ अगाडि त निकै गहिरिएर हेथ्र्यो अझ पछाडि पनि बारम्बार हेरिरहन्थ्यो । अझ खोलोभित्र पसेपछि त झन डरमर्दो अन्धकार थियो । लाग्थ्यो, अब फिस्टिनीको होइन उसको काल आइरहेको छ । कालले उसको घाँटी निमोठी सक्यो । यस्तो डर र त्रासमा पनि ऊ अघि बढिरहेकै थियो । ‘जाबो एक मुठीको फिस्टिनी पक्रन पनि म यति विघ्न डारउनु पर्ने -’ भनेर मनमनै प्रश्न गथ्र्यो । अन्धकारलाई वास्ता गर्दै, वेवास्ता गर्दै ऊ फिस्टिनीको गुँड छोप्न पुग्यो । दिनभरि तालिम गरेकैले मात्र मदन त्यो गुँडमा हात पुर्याउन सफल भयो नत्र त्यो अन्धकारले ऊ असफल हुने थियो । विचरी फिस्टिनी, एउटा निर्दयी, मानवताहीन मानवको नाममा दानवको हातले गुँडमै चेपिएर मर्ने तरखरमा थिई । कालको पनि महाकाल मान्छे भनाउदा अपराधीको हातमा परेको फिस्टिनीले के नै पो गर्न सक्थी र । उसले आत्मार्समर्पण गरी । नगरोस् पनि कसरी र, उसको उम्कने विकल्पै थिएन ।
यसबेला भने मदनले अन्धकार, डर, त्रास सब भुलिसकेको थियो । त्यसबेला उसमा यस्तो अहम् बसेको थियो कि यो संसारमा ऊ जतिको शक्तिशाली कोही पनि छैनन् । यो संसार उसको हो, ऊ यो संसारको अधिपति हो । ऊ गजक्क फुलेर बाटो लाग्यो, लख्रक्क लख्रक्क ।हातमा फिस्टिनी च्यापेरै मदन घर पुग्यो । घरमा त कसलाई देखाउनु थियो र उसको त्यो पुरुषार्थ – ठूली बहिनी सानै थिई । फेरि, ऊ परी नारी । अलि शक्तिशालीलाई भए पो त्यो पुरुषार्थ देखााउनु – बाबुलाई देखाउँ भने आफैँलाई झपार्ने डर । ऊ आफ्नो पुरुषार्थ देखाउने विचारले बाहिरबाहिरै लाग्यो पारितिर जहाँ उसका दौँतेरी साथीहरु थिए । त्यसबेला उनीहरुमा चराको गुँड जसले भेटाए पनि, गुँडबाट बच्चा ल्याए पनि या माउ मारे पनि एकअर्कालाई भन्ने या देखाउने चलनै थियो । त्यसैकारण मदनले कुमार दाइ र हर्के कान्छालाई त्यो च्यापिएर मर्न लागेकी जुरेफिस्टिनी देखाउन भनी लग्यो । तीन भाइको भेट भयो । मदनले फिस्टिनीको टाउको मात्र देखाउदै भन्यो, ‘हेर, आज मैले जुरेफिस्टाको माउ जिउँदै पक्रेको छु ।’ कुमार दाइले फिस्टिनीलाई हातमा लियो । ओइटाइ पल्टाइ हेर्यो । तर उसको अनुहारमा त्यस्तो खास परिवर्तन देखिएन । कान्छोले पनि दाइको हातबाट त्यो फिस्टिनी लियो । तर उसमा पनि कुनै परिवर्तन देखिएन । उसले त सोचेको थियो कि त्यो फिस्टिनी देखेपछि दाजुभाइ मख्खै पर्ने छन् । वास्तवमा कुमार दाइ र हर्के कान्छाले त फिस्टा होइन ढुकुरको माउ कति पटक मारिसकेका थिए, माउसहित बचेरा कति पटक पक्रिसकेका थिए । अरु घुजर्ुर्की, लाहाचे, रुपी, हलेसोका बच्चा माउ पनि ल्याइसकेका थिए । उनीहरुको निम्ति त्यो फिस्टिनी पक्रन ठूरो कुरो थिएन । त्यसैले उनीहरुमा कुनै उत्सुक्ता र उतेजना देखिएन । तर मदनको निम्ति त्यो ठूलै कुरो थियो । किनकि उसले र्सवप्रथम त्यो माउ चरा पक्रन सफल भएको थियो । उनीहरुबाट त्यस्तो खासै खुशीको प्रतिक्रिया नभएपछि तल्तिरका साहिंला र मेचे दुई जना दाइ, सीताराम, राजकुमार र सम्पूर्ण तीन जना भाइ, फूलचन्द्र एक जना भानिज आदिलाई फिस्टिनी देखाउन ओरालो लाग्यो । प्रथमतः ऊ फूलचन्द्र भान्जाको घरमा गयो । भान्जालई एकान्तमा बोलाएर मर्न लागेको त्यो मुठीभित्रको चरी देखाउदै भन्यो, ‘हेर त भान्जा, आज मैले जुरेफिस्टाको माउ पक्रेको छु ।’ उनमाचाहिँ केही उत्सुक्ता देखियो । उत्साहित हुँदै उसले त्यो चरी माग्यो, ‘खोई त मामै, म एक पटक हेर्छु कति जोगाउदै मुठीभित्रको चरा उसले फूलचन्द्रलाई दियो । उसले चराको प्राणै जालाझैँ गरी पक्रेको देखेर फूलचन्द्रलाई भन्यो, ‘भानिज, बिस्तारै पक्र है, मर्न सक्छे ।’ उसले केहीक्षण हेरेपछि मदनले लियो । अनि सीतारामलाई देखायो । उसमा पनि केही खुशी र उत्सुक्ताको चमक देखियो । सानै भएकोले होला सम्पूर्णले चाहिँ उसको कामको निकै प्रशंसा गर्यो । एक पटक त उसले त्यो माउ दिन अनुरोध पनि गर्यो ।
भाइहरु र भान्जालेचाहिँ त्यो कामको केही प्रशंसा गरे तापनि दाइहरुलेचाहिँ त्यति रुचि देखाएनन्, वास्ता र प्रशंसा गरेनन् । यसो हेरेजस्तो गरेर नाक खुम्चाए । यस्ता केही तीता केही मीठा प्रतिक्रियाले उसको उचाइमा पुगेको खुशी शिथिल हुँदै गयो । पारि तर्दाको असीम खुशी वारि तर्दा सिधिन लागेको थियो । तैपनि एक दुई दिन त गर्वले उसका खुट्टा भुइँमै भएनन् । साथीहरु भेट्यो कि ऊ फिस्टिनी घटना बताइहाल्थ्यो । प्रशंगबस नचिनेलाई पनि घटनाको विवरण र आफ्नो पुरुषार्थ बताइहाल्थ्यो । त्यो घटनाले केही व्यक्तिलाई केही असर पारेजस्तै देखिन्थ्यो भने ऊ निकै खुशी हुन्थ्यो । तर धेरै जनालाई त कुनै प्रभावै पारेको देखिन्दैनथ्यो बरु फिस्टिनीप्रति दया, माया, सहानुभूति देखिन्थ्यो । धेरैले भने, ‘बिचरा ! च्वा च्वा ! कस्तो माया पनि नलागेको अपराधी हौ । त्यति सानो चरामा के पाउछौ र तिमीले मारेको – बरु मार्र्छौ भने अलि ठूलो चरा मार न ।’ एक दुई दिन ऊ गर्व र घमण्डले फुले पनि अन्त्यमा ऊ पश्चाताप र अपराधबोधले थिचिन्दै गयो । आत्माग्लानी र प्रायश्चितमा पर्दै गयो । ऊ मर्माहत र विक्षिप्त बन्दै गयो । कारण थियो फिस्टाको वेदना र चित्कार । प्रलाप र रोदन ।
फिस्टिनीको हत्याको भोलिपल्टदेखि फिस्टा-फिस्टिनीको लोग्ने या भाले)ले रुएर वनै, खोलै थर्काउन थाल्यो । घरि गुँडको नजिकै गएर, घरि पल्लो रुखमा गएर, घरि वल्लो रुखमा बसेर, घरि माथि माथि उडेर स्वरै फाट्नेगरि, स्वरै सुक्नेगरि, कानै दुख्नेगरि, कराइरहन्थ्यो, रोइरहन्थ्यो, चिच्याइरहन्थ्यो । ऊ घरि घरि त गुँड भएको ठाउँमा टाँसिएर यताउति हेथ्र्यो, अलिक नजिकैका हाँगा र बिरुवामा बसेर उसकी फिस्टिनीलाई खोजिरहन्थ्यो । कतै नपाएपछि उसैगरि रुने, कराउने, चिच्याउने गथ्र्यो । त्यसदिन ऊ दिनभरि करायो अर्थात रोयो । त्यो फिस्टा रोएको, कराएको, चिच्याएको उसले सुनिरहन्थ्यो, हेरिरहन्थ्यो । फिस्टाको त्यो प्रलाप, वेदना, चित्कार, रोदन धेरै दिन सुनेर मदनको मन खिन्न र तीतो भयो । ऊ गाईवस्तु गोठ लान्थ्यो । पश्चातापले आफैँ मर्र्मुरिन्थ्यो । आत्माग्लानी र अपराधबोधले पिल्सिन्थ्यो । गाईगोरु चराउन भोलिपल्ट डाँडा पुर्याउँदा पनि ऊ-फिस्टा) त्यसरी नै कराइरहेको हुन्थ्यो जसरी पहिलो दिन कराइरहेको हुन्थ्यो । घरि कहाँ, घरि रुखमा, घरि गुँड छेउमा गएर ऊ दुई महिना जति त्यसरी नै रोइरहृयो, कराइरहृयो, चिच्याइरहृयो । त्यसपछि उसले अलिक रुने, कराउने कम गर्यो । बिचराको ! स्वर सुक्यो होला, घाँटी दुख्यो होला । त्यसपछि ऊ घरि घरिमात्र कराउन, रुन थाल्यो । घरि घरि त पहिलाजस्तै कोकोहोलो मच्चाएर रुन्थ्यो, कराउथ्यो । अझ पछिदेखि त ऊ सानै स्वरमा रुन होइन कराउन थाल्यो । त्यसपछिचाहिँ उसको मन पनि शान्त भयो । साधारण र सहज बन्यो । नत्र भने फिस्टाको भन्दा उसको मन बढी रोयो । फिस्टाले रोउसको वेदना, व्यथा सहन सक्यो तर उसले त्यो वेदना, चित्कार र प्रलापलाई सुन्न सकेन, सहन सकेन । बरु पश्चाताप र प्रायश्चितले मुर्छा मुर्छा पर्यो । हो, उसले आफ्नो विवेकहीनतालाई धिकार्नुबाहेक अर्को विकल्प पनि त थिएन । ऊ छटपटाउनु छटपटायो, निचोरिनु निचोरियो । ऊ नुनबिनाको अलिनु तिहुनजस्तै भएर, निचोरेको सुन्तोलाजस्तै निचोरिएर गोठाला गथ्र्यो । दुई तीन महिना जति त्यो फिस्टा त्यसरी रोएर लापता भयो । उसले निकै विचार गर्यो, फिस्टालाई निकै खोज्यो कि ऊ त्यतै कतै बसिरहेको छ । कतै नकर्राई उडिरहेको छ, त्यतै कतै चारो खोज्दै छ । तर उसले फिस्टालाई कतै देखेन । कतै भेटेन । त्यस्तै एक वर्षछि ऊ-फिस्टा) देखा पर्यो । अर्थात फेरि निस्कियो । ऊ पहिलाजस्तै वनै थर्काउनेगरि रुन, कराउन थाल्यो । अटुटरुपमा दिनभर रोइरहृयो, कराइरहृयो । तर ऊ यसपालि पहिला जसरी एक महिना रोएन । हप्ता दिनसम्म रोएपछि कहिलेकहीँ कराउने, कहिलकहीँ गाउने गर्न थाल्यो । पहिलाजस्तो गुँडमा गएर रुने पनि गरेन । ऊ रुखमाथि माथि नै करायो, गायो । यस्तै एक दुई महिना जति बसेर ऊ फेरि हरायो यसरी ऊ दुई तीन वर्षरोयो, करायो, गायो । तर तेस्रो वर्षछि ऊ एक्लो थिएन । ऊसँग एउटी फिस्टिनी पनि थिई । सायद उसले अर्को बिहे गरेको हुनसक्छ । फिस्टिनी ल्याए पनि फिस्टाचाहिँ केही दिन बेजोडले रोइरहृयो, कराइरहृयो जसरी पहिलो वर्षरुमा ऊ रुने कराउने गथ्र्यो । नया फिस्टिनी उसैको छेउमा हुन्थी । मौनतामा उसले फिस्टालाई हेरिरहेकी हुन्थी । फिस्टाको रुवाइमा उसका आँखाहरु रसाउन खोज्थे । सहज वातावरण बनेपछि दुई दम्पती चाराको खोजीमा लाग्थे । उनीहरुको दाम्पत्य जीवन यसरी शुरु भए तापनि उनीहरुले त्यहाँ गुँड लाएनन् । बच्चा बनाएनन् । सायद उनीहरुले सोचे होला मदन भन्ने दानवले उनीहरुको हत्या गर्ने छ र गुँड भत्काइ दिने छ । उनीहरुको सुमधुर सम्बन्ध टुटाइ दिने छ । उनीहरुको अविछिन्न प्रेम छुटाइ दिनेछ । उनीहरुको असीम प्यार ठुक्र्याइ दिनेछ । मदन प्रायश्चित भोग्न तयार थियो । उसले यो पनि निर्णय गरिसकेको थियो कि अब आजीवन उसले जानी जानी प्राणी हत्या गर्ने छैन । तर फिस्टाको यो व्यवहारले मदन अझ दुखित भयो । उसले के सोचेको थियो भने ती दई दम्पतीले घरजम गरोस्, गुँड बनाओस्, बच्चा हुर्काओस् अनि स्वतन्त्ररुपमा उडोस् । उनीहरुको आत्मा रक्षाको निम्ति ऊ लागि पर्ने छ । उनीहरुको पलायनले ऊ व्यथित मात्र बनेन ऊ आफैँलाई धिकाथ्र्यो, ‘थुइक्क तेरो बुद्धि, त्यो नाथे एक मुठी फिस्टिनीलाई मारेर न अघाउन्जेल खान पाइस् न सन्तोषले नै बाँच्न सकिस् । न उसको मासुले कुनै महत्वपूर्ण र चमत्कारकारिक काम गरिस्, न त्यसलाई बेचेर धन कमाउन सकिस् । एउटा दुधे आन्द्रा अघाउन नसक्ने एक पित्को मासुले अब तँ जलेर मर् । छटपटिन्दै, पिल्सिदै मर् ।’
२२ जनवरी २०११


Leave a Reply